म्याग्दी ।
केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।
कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ ।
सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला यहाँ थेगी नसक्नुको भीड छ । पुस लागेयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय अगुवा भरत केसीले जानकारी दिए ।
उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका छन् । अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको पर्वत कुश्माका हरिश गौतमले बताए।