रास्वपाले संगठन निर्माणका लागि २ महिने अभियान चलाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संगठन निर्माणका लागि २ महिने अभियान संचालन गर्ने भएको छ । शनिबार सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार अभियान २ माघबाट सुरु गरिनेछ । बैठकमा संगठन निर्माणका लागि सहयोग गर्न जिल्ला–जिल्लामा विज्ञ सम्मिलित कार्यदल बाउनेबारे समेत छलफल भएको उनले जानकारी दिए ।

‘संगठन निर्माण अभियान सञ्चालन गर्ने छलफलमा केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरुले सिफारिस गरेको विज्ञ सदस्यहरु रहेको जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरुलाई सहयोग तथा सहजीकरण गर्न जिल्ला अनुसारको कार्यदल निर्माण गर्ने छलफल गरियो,’ बैठकबारे जानकारी गराउन जारी गरिएको सूचनामा भनिएको छ, ‘कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्ने छ।’

रास्वपाले महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पुरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्नेबारे समेत छलफल गरेको बताएको छ ।

  • २० पुष २०८१, शनिबार २०:४२ प्रकाशित