गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि सम्झौता

परियोजना पाँच वर्षसम्म सञ्चालन हुने, कोइकाले एक अर्ब २३ करोड रुपैयाँ खर्च गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले सहयोग गर्ने भएका छ । सहयोगका लागि कोइका र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबीच हस्ताक्षर भएको छ।

मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले उक्त सम्झौता पत्रमा एक कार्यक्रम बीच शुक्रबार हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुरुप कोरियाली सरकारमार्फत कोइकाले यो परियोजनाका लागि ९ मिलियन अमेरिकी डलर (१ अर्ब २३ करोड रूपैयाँ) खर्च गर्नेछ । परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन् ।

सम्झौतापछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरियाली सरकारलाई गण्डकी प्रदेश सरकार र प्रदेशवासीको तर्फबाट धन्यवाद दिए । उनले सरकारले लिएको लक्ष्य र उद्देश्य पूरा गर्न गराउनमा कोइकाले उपलब्ध गराएको यो सहयोग महत्वपूर्ण सावित हुने बताएका छन् ।

गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत् गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) सञ्चालन गर्दै छ । यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका १ स्थित गुर्धुममा १ सय ६० रोपनी जग्गा प्रदान गरिसकेको छ । प्रदेशभित्र आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरी युवाहरुलाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यका साथ गण्डकी सरकारले प्रतिष्ठान स्थापना गरेको हो ।

गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटाले प्रदेशका लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण अनुसार तालिमहरु सञ्चालन गर्नका लागि पूर्वाधारका लागि प्राप्त सहयोगले ठूलो महत्व राख्ने बताए ।

  • १९ पुष २०८१, शुक्रबार १३:१९ प्रकाशित