होटल पौवाको साँस्कृतिक साँझमा झुमे पाहुना

केन्द्रभाग मिडिया

पोखरा ।
होटल पौवा प्रालिले आयोजना गरेको पौवा साँस्कृतिक साँझमा पाहुनाहरु गीतसंगित र नृत्यसँगै रमाएका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १६ गते पौवा अन्तर्गतका पोखरा, भैरहवा, भालुवाङ, घोराही र गैडाकोटमा साँस्कृति कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम भएका पाँचै स्थानमा करिब ३० हजार पाहुना सहभागी भएको होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले जानकारी दिए । दर्शकहरु साँस्कृतिक साँझको मनोरञ्जन लिदै खानाका परिकारसँग रमाएको उनले बताए । उनका अनुसार पोखरामा सुरज थापा एण्ड ब्यान्ड, भैरहवामा अस्मिता अधिकारी र महेश काफ्ले, भालुवाङमा रामजी खाँड र सुविन सिंह एण्ड ब्यान्ड, घोराहीमा पशुपति शर्मा र एन्जिला रेग्मी, गैडाकोटमा अभि एण्ड अवसर ब्यान्डले प्रस्तुति दिएको हो । सबै कार्यक्रममा स्थानीय जातजातिका मौलिक नृत्य पनि प्रस्तुत गरिएको उनले बताए ।

सोही अनुसार पोखरामा पनि होटलले साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत साँस्कृतिक कार्यक्रम गरिएको होटल पौवा पोखराका प्रवन्धक केशव भण्डारी जानकारी दिए । पोखराको कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डमा गायक थापासँगै रिता केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र बिजय बज्राचार्यका साथमा बाँसुरी बाधक किरण बरालको प्रस्तुति थियो ।

‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर शाखा बिस्तारमा तिब्रता बनाएको होटल पौवाले नेपालीहरुको चाडपर्वमा पनि विशेष कार्यक्रम गर्दै आएको छ । पौवामा तीजको दर खाने देखि मागी, शिवरात्री जस्ता चाडपर्वमा सोही अनुसार कार्यक्रम गर्दै आएको र आगामी वर्ष पनि त्यसलाई निरन्तरता दिइने अधिकृत गौतमले बताए ।

होटल पौवाको अहिले देशभर १७ शाखा रहेको अधिकृत गौतमले जानकारी दिए । होटल पौवाको शाखाहरु कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा रहेको छ ।

गण्डकी प्रदेशको पोखरा र नवलपुरमा होटलले शाखा विस्तार गरिसकेको छ । बाग्मती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट, चितवनको भरतपुरमा पौवाको शाखा छ । कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरेको छ । छिट्टै बाँकेको नेपालगन्जमा पाँच तारे स्तरको होटल पौवा सञ्चालनको तयारीमा रहेको अधिकृत गौतमले बताए ।

होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए । होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए । सोही अनुरुप होटलले नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।

  • १८ पुष २०८१, बिहीबार २०:२४ प्रकाशित