काठमाडौं ।
बाल कलाकार सचिन परियारको निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार बिहान १० बजे निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि ६ पुसमा अस्पताल भर्ना गरिएका उनको केही दिनदेखि आइसीयूमा उपचार भइरहेको थियो । भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।
हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’,‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।गुल्मीका सचिन सामाजिक सञ्जालबाट चर्चामा आएका थिए । भाइरल भएपछि उनले गीत गाउनुका साथै म्युजिक भिडिओमा अभिनयसमेत गरेका थिए । उनी १३ वर्षका थिए ।
पारिवारिक स्रोतका अनुसार सचिनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । सचिनको निधनमा थुप्रै कलाकारले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।