पोखरा ।
सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज (बिहीबार) देखि जाहेरवालाको तर्फबाट बहस हुँदैछ । जारी थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट हिजो (बुधबार) बहस सकिएको थियो । न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिल कार्यालयका तर्फबाट नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका थिए ।
उनीहरुले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका प्रतिवादीहरुलाई सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षमा पठाउनुपर्ने तर्क राखे ।
अब जाहेरवालातर्फबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा। नारायण घिमिरे, हरि सुवेदी, रोहित बाँस्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्त लगायतले बहस गर्ने तयारीमा छन् । रास्वपा सांसद समेत रहेकी सोविता गौतम पनि प्रतिवादी लामिछाने लगायतको पक्षमा बहस गर्ने तयारीमा छिन् ।
दुवै पक्षको बहसपछि उच्च सरकारी वकिल कार्यालयका अधिवक्ताहरुले जवाफी बहस गर्ने छन् । त्यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामा राखेर मुद्दा फैसला गर्ने कि बाहिरै राखेर भन्ने आदेश न्यायाधीशले सुनाउने छन् ।
सहकारीको रकम अपचलन आरोपमा पूर्वगृहमन्त्री एवम् गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्धक समेत रहेका लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते मुद्दा दायर गरेको थियो ।
लामिछानेसँगै रामबहादुर खनाल, पूर्वडीआईजी छविलाल जोशी, जोशी र लीला पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।