पोखरा ।
पोखरा-१ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविको प्रशासनिक भवनको शिलान्यास भएको छ । बुधबार विहान प्रशासनिक भवनको प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । शिलान्यास पछि बोल्दै सांसद बैरागीले भवन निर्माण पस्चात त्यसमा लाग्ने अन्य पूर्वाधारका लागि आफूले थप पहल गर्ने प्रतिवद्धता जनाए । राष्ट्रिय मावि यस क्षेत्रका शैक्षिक धरोहर रहेको चर्चा गरेका उनले विद्यालयको सर्वांगिण विकासका लागि सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
भवन शिलान्यासको अबसरमा गण्डकी प्रदेशका सांसद राजकुमारी भुजेल, वडाध्यक्ष सहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा र सहायक प्रधानाध्यापक नारायण प्रसाद चापगाइँ लगायतले विद्यालयका बारेमा बोलेका थिए । भवन निर्माणका लागि संघीय सांसद दामोदर बैरागीले पहल गरेको भन्दै उनीहरुले सांसद बैरागी प्रति आभार प्रकट गरे ।
उक्त भवन नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यन्वयन इकाई कास्कीको एक कारोडको लागतमा निर्माण हुन लागेको हो । निर्माणको जिम्मा आफन्त कन्ट्रक्सन प्रालिले लिएको छ ।
उक्त भवन यही आर्थिक मसान्तभित्र सक्नेगरी निर्माणको जिम्मा कम्पनीले लिएको निर्माण व्यवासायी कम्पनीका सञ्चालक माधव क्षेत्रीले जानकारी दिए ।















