आयोगद्वारा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ ।आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूबाट उम्मेदवारको बन्दसूची पाएसँगै छानबिन सुरु गरिएको हो ।

‘कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहेरनरहेको हेर्ने हो । यसरी हेर्न सुरु गरिएको छ’ प्रवक्ता भट्टराईले भने।

उनका अनुसार आयोगले आयोगले यही पुस २० गतेसम्म अध्ययन गर्नेछ ।आयोगले क्लस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गर्नेछ । त्यस्तोमा दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न पाउनेछन् ।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।

माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।

आयोगको तालिका अनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

  • १६ पुष २०८२, बुधबार १७:१० प्रकाशित