१४ औं संस्करणको पोखरा महोत्सव २९ पुसदेखि

केन्द्रभाग मिडिया

पोखरा ।
युनाइटेड क्लब पोखराको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव यहि पुस २९ गतेदेखि सुरु हुने भएको छ ।

पोखराको अमरसिंह मा.विको विशाल खेल मैदानमा हुने महोत्सव २९ गतेदेखि माघ ११ गते सम्म सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा फरक क्षमता भएका वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार ५ वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क प्रवेश गराइने महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवको मुख्य आर्कषणमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने संयोजक सुनारले बताए ।

महोत्सवमा रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, पक्राश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल , घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

यस्तै लाईभ कन्सर्टतर्फ पूर्ण राई, डी मर्चा, लेकाली , जेम्सी, सबिन राई, भिटेन, लाहुरे, टुकी सँगै स्थानीय ब्यान्डहरुको पनि प्रस्तुति रहने संयोजक सुनारले जानकारी दिए ।

महोत्सवमा नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झाँकी प्रर्दशनी, विद्यार्थीले निर्माण गरेका विज्ञान प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने आयोजकले बताएको छ । त्यसैगरी थप आर्कषणको लागि विभिन्न विधाहरुमा अध्ययन भइरहेको आयोजकले जनाएको छ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रर्दशनी, औद्योगिक उत्पादनको प्रर्दशनी एवम् बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवम् बिक्री, स्थाननिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रर्दशनी तथा उचित मुल्यमा विक्री वितरण गरिनेछ ।

पोखरा लगायत यस्तै विभिन्न पर्यटीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवम् जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता साथै कृषिका गतिविधिहरु सञ्चालन हुने आयोजकले बताएको छ ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर डोर्याउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधरण समक्ष पुर्याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदैं आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्ने , नव कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत विकासमा टेवा पुर्याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।

संयोजक सुनारको अनुसार महोत्सवमा २ सय ५० स्टल रहने छन् । स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको बताइएको छ । पर्यटकी स्थलको जानकारी दिने स्टललाई निशुल्क स्थान प्रदान गरिएको छ ।

महोत्सवमा २ लाख ५० हजार हाराहारीमा दर्शकको उपस्थिती रहने अनुमान गरिएको छ । महोत्सवमा एक करोड ५१ लाख, ७५ हजार आम्दानी हुने र एक करोड २३ लाख , ६० हजार खर्च हुने आयोजकको अनुमान छ ।

आयोजक क्लबले महोत्सवकै आम्दानीबाट शिक्षाको क्षेत्रमा पोखरा र आसपासमा रहेका २० वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना एवम् शैक्षिक सामाग्रीहरु वितरण गर्दै आइरहेका छ । यस्तै स्वास्थ्य अन्तर्गत ग्रामिण क्षेत्रहरुलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गनुको साथै खेलकुद प्रतियोगितामा प्रायोजन गर्दै आएको छ ।

यस्तै पर्यटन प्रर्वद्धनतर्फ पोखरामा खुल्ला चिडियाखानाको अवधारणा लिई पोखरा महानगरपालीकाको पचभैया क्षेत्रमा पर्ने सामुदायिक वनहरुलाई समेटेर चिडियाखाना निर्माणको पहल गरेको छ ।

पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष लोक बहादुर थापा, उपाध्यक्ष गणेश तिमिल्सिना र पूर्व अध्यक्ष राजु श्रेष्ठ , अम्मरसिंह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइराला लगायतले महोत्सवको बारेमा बोलेका थिए।

  • १६ पुष २०८२, बुधबार १६:१७ प्रकाशित