काठमाडौं ।
नेपालमा पहिलोपटक औपचारिक रूपमा प्रथम राष्ट्रिय च्याउ दिवस मनाइएको छ । मंगलवार देशभर विभिन्न कार्यक्रम आयोजना गरी च्याउ दिवस मनाइएको हो ।
सरकारले गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकबाट पुस १५ लाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । विभिन्न प्रकारका च्याउका परिकारहरू र च्याउहरु प्रदर्शनमा राखिएको छ । नेपालमा ७० जिल्लामा च्याउ खेती विस्तार भएको र ४० जिल्लामा व्यावसायिक उत्पादन भइरहेको छ ।
नेपालमा एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेको विभिन्न अध्ययनले देखाएको छ ।
गुणस्तरीय च्याउ उत्पादन र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आघात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पुर्याउने उद्देश्यले हरेक वर्ष पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने सरकारले निर्णय गरेबमोजिम पहिलो पटक राष्ट्रिय च्याउ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपालको कृषि गार्हस्थ्य उत्पादनमा ० दशमलव १५ प्रतिशत योगदान रहेको तथा करिब ३५ हजार किसान प्रत्यक्ष संलग्न रहेको च्याउ उपक्षेत्र साना तथा मझौला कृषकको आयआर्जनको माध्यमका रुपमा रहेको तथ्याङ्क छ ।
हाल दैनिक करिव १ लाख किलो च्याउ उत्पादन हुने भएपनि माग धान्न वार्षिक १५–२० करोडको च्याउ आयात गर्नुपर्ने अवस्था छ ।















