लेखनाथ ।
२१ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सव १२ दिनसम्म चलेर सम्पन्न भएको हो । महोत्सवमा ११ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको महोत्सव आयोजक लेखनाथ उद्योग वाणिज्य संघले बताएको छ ।
महोत्सवका प्रचार-प्रसार संयोजक युवराज भट्टराईका अनुसार ३ लाख ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । उनले ९ करोडको कारोबार र २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको भएपनि महोत्सवले सोचेभन्दा बढी सफलता पाएको दाबी गरे ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्ता मेलाले आर्थिक समृद्धिमा टेवा पुर्याउने बताए । उनले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी वस्तु तथा सेवाको बजारीकरणमा महोत्सवले योगदान दिएको उल्लेख गरे। ‘जेनजी आन्दोलनका कारण व्यवसायीमा पुगेको क्षति र गिरेको मनोबलका बिच आर्थिक अवस्था कसरी सुधार्न सकिन्छ भन्नेमा हामी चिन्तनशील हुनुपर्छ’, आचार्यले भने ।
उनले साविक लेखनाथ क्षेत्रको विकासका लागि बेग्नास तालमा वाटर स्पोर्ट्स सञ्चालन गर्ने योजना स्थानीयको सहयोगमा अघि बढाइने जानकारी दिए । पोखरा-मुग्लिन सडक निर्माण अन्तिम चरणमा पुगेकाले अब पोखरा र लेखनाथको दुरी घट्ने र महानगरले लेखनाथको विकासमा कुनै विभेद नगरेको उनले प्रष्ट पारे।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महोत्सवले उत्पादनको बजारीकरणमा सहयोग पुर्याएको बताउँदै रुपा र पोखराको एकीकृत विकासका लागि योजना बनाउनुपर्ने सुझाव दिए। पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले सामाजिक संघ(संस्था र व्यवसायी मिलेर एकीकृत विकासको योजना बनाउन आग्रह गरे ।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औं संस्करणसम्म आइपुग्दा यसले ‘महोत्सवको पनि महोत्सव’ भन्ने पहिचान बनाएको बताइन्। उनले उत्पादक र उपभोक्तालाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको उल्लेख गरिन्। लेखनाथवासीको एकताका कारण महोत्सव सफल भएको उनको भनाइ थियो । यस्तै वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले अन्य वर्षको तुलनामा यसपालिको महोत्सव बढी सफल रहेको दाबी गरे ।
महोत्सव समापनका अवसरमा विभिन्न विधाका उत्कृष्ट व्यवसायी, दर्शक र कलाकारलाई सम्मान गरिएको थियो। महोत्सवबाट हुने बचत रकम प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको पहल र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने संघले जनाएको छ। संघकी अध्यक्ष जानुका अधिकारी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले गरेका थिए ।















