अधिकांश दल बन्दसूची बुझाउन अपराह्न मात्रै आयोग पुग्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूले आज सोमबार समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन् । आयोगले तोकेअनुसार समानुपातिक तर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन भएकाले दलहरू त्यसैको गृहकार्यमा लागेका छन् ।

नेपाली कांग्रेसले सोमबार दिउँसो १ बजेपछि समानुपातिक सूची बुझाउने जनाएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जिल्लाबाट आएको सूची एकीकृत गरेर १ बजे आयोग पुग्ने तयारी भइरहेको बताए । अर्को दल नेकपा एमाले पनि अपराह्न मात्र ९४ बजे० आयोग जाने भएको छ । एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले क्लस्टर अनुसार नामहरू मिलाउने काम जारी रहेकाले अपराह्न मात्रै आयोग जाने बताए ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले साँझ पाँच बजे आसपास आयोग पुग्ने बताएको छ । नेता रामकुमार भट्टराईले प्रक्रियाहरू मिलाउने काम भइरहेकाले समय लाग्ने बताए ।

अर्को दल रास्वपा पनि अपराह्न मात्रै आयोग जाने तयारीमा छ । प्राइमरी इलेक्सन, पोल्टिकल प्रोक्सिमिटी, लिडरसिप एकेडेमीको रिजल्ट समिट गर्नुपर्ने भएकाले समय लाग्ने सहमहामन्त्री विपिन आचार्यले बताए ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बन्द सुची टुङ्गो लगाउन ११ बजे बैठक बोलाएको छ । बैठकले नामहरू अन्तिम रूप दिएपछि क्लस्टर मिलाएर नामावली तयार गर्दा समय लाग्ने भएकाले अपराह्न मात्रै आयोगमा सूची बुझाउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपासँग आन्तरिक छलफलमा रहेकाले कुरा नमिलेको खण्डमा छुट्टै सुची बुझाउने तयारीमा छ । यसबाहेक अन्य राजनीतिक दलहरू पनि बन्द सूची बुझाउन अन्तिम गृहकार्यमा जुटेका छन् ।

निर्वाचन कार्यक्रमअनुसार सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ९३ वटा राजनीतिक दल समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन निवेदन दिएका थिए ।

  • १४ पुष २०८२, सोमबार १२:२० प्रकाशित