स्याङजा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत गण्डकीप्रदेश र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदी माथि बनिरहेको रामदी पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ ।
सीएफएसटी प्रविधिमा बन्ने देशकै पहिलो नमुना मोटरेबल पुल दाबी गरिएको सो पुल थप भएको समयमै निर्माण सम्पन्न हुने पुल सेक्टर पोखराका ईन्जिनियर विदुर सुवेदीले जानकारी दिए । पुल निर्माणको लागि ३०/०३/२०७९ मा निर्माण सम्झौता भएको थियो ।
निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि म्याद बढाएर २९/०३/२०८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको पुलको ७५ प्रतिशत निर्माण कार्य सकिएको उनले बताए । ई. सुवेदीका अनुसार पुलको आर्च, फाउन्डेसन निर्माण, पिल्लर हाल्ने र ह्याङगर हाल्ने लगायतकाम सम्पन्न भएका छन् ।
हिमसगरमाथा प्रालि चितवनले पुल सेक्टर पोखरासँग २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो । पुलका लागि स्लेवहरु भारतमा निर्माण गर्ने भनिएपनि त्यहाँबाट ल्याउन असफल भएपछि अहिले रामदीमै निर्माणको काम भइरहेको छ । यो पुल १२३ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ ।
नयाँ प्रविधि र डिजाइन भएकाले कतिपय कुरा सिक्दै निर्माणको काम भइरहेको र निर्धारित समयमा नै काम सक्ने निर्माण कम्पनी हिमसगरमाथा प्रालिका प्रतिनिधि ईन्जिनियर अविरल शर्माले जानकारी दिए । ‘नेपालमै यो डिजाइनको पुल पहिलो हो । कतिपय कुरा हामीले पनि सिक्दै काम गर्नु पर्यो’ उनले भने, ‘तरपनि तोकिएकै समयमा पुल निर्माणको काम सम्पन्न गर्न निर्माण कम्पनी सक्षम छ र निर्धारित समयमै काम सक्ने छौं ।
चालु पुल जिर्ण अवस्थामा
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने रामदी नदी माथिको चालु पुल जिर्ण बनेको छ । २०२२ सालमा निर्माण थालेर र २०२८ सालमा तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले उद्घाटन गरेको पुरानो पुलको तल्लोभागमा नयाँ नमुना पुल निर्माण भइरहेको हो । जिर्ण भएकाले पुरानो पुलमा १० टन मात्रै भार ओसार्न मिल्ने व्यवस्था गरिएको छ ।















