काठमाडौं।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन् ।
तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची आयोगमा पेस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार आइतबार र सोमबार बन्दसूची पेस गर्ने समय तोकिएको छ ।
आयोगले समानुपातिकको बन्दसूची पेस गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिए । पहिलो चरणमा सम्बन्धित दलहरुले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहेरनरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए ।
निस्सा लिएपछि बन्दसूची पेस गर्नको लागि दर्ता गरिने उनको भनाइ छ । उनले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रवन्ध मिलाइएको पनि जानकारी दिए । उनले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताए । सोमबार ६ बजेसम्म आउने दलहरुलाई सेवा दिने बताए ।














