पोखरा ।
उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल निर्माणका लागि सबै जुट्न आग्रह गरेका छन् । पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजित २७ औं संस्करणको सडक महोत्सवको आइतवार उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
२१ फागुनमा हुने चुनाब मार्फत सहि नेतृत्व छान्न उनले आग्रह गरे । उनले सरकार र संसदमा सहि नेतृत्व आउनु पर्ने भन्दै निर्वाचनलाई सहि नेतृत्व ल्याउने माध्यमको रूपमा उपयोग गर्न आह्वान गरे । देश को सबैक्षेत्र उज्यालो बनाउन, सुशासन दिन र गरिवि हटाउँदै सम्बृद्धि ल्याउन उपयुक्त नेता वा पात्र संसद र सरकारमा पुग्नुपर्ने उनको तर्क छ ।
पोखरामा गुणस्तरीय विद्युत सेवाकालागी अन्डरग्राउनडिङ लगायतका काम भइरहेका उनले चर्चा गरे । ग्रीन करिडोरका लागी पोखरा चितवन र लुम्बिनीमा काम भइरहेको उनले सुनाए ।
पोखरा र भैरहवा विमान स्थल सञ्चालन गर्न सरकार वर्तमान सरकार लागिपरेको भन्दै उनले यी दुई विमानस्थलले यस क्षेत्रको अर्थतन्त्र चलायमान गराउनेविश्वास गरिएको भएपनि त्यसो हुननसकेको उनको भनाइ थियो ।
उनले फेवा संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकार एकै ठाउँमा हुनुपर्ने धारणा राखे ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल वस्यालले यसक्षेत्रको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकार लागिपरेको बताए ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडानका लागि संघ सरकारलाई बोल्ड निर्णय गर्न आग्रह गरे । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेर अगाडि बढेको चर्चा गरेका उनले महानगर पर्यटन प्रवर्धन गर्न संधै ब्यवसायीको साथमा रहेको बताए ।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजित महोत्सव १७ पुससम्म चल्नेछ । महोत्सवको उद्घाटन अघि लेकसाइडमा झाँकीसहितको र्यालीको आयोजना गरिएको थियो ।
कला संस्कृति प्रवर्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणमा सघाउन, पोखरा र लेकसाईडको प्रचारप्रसार, व्यापार बढाउन, पोखराको ब्राण्डिङ गर्न महोत्सवको गरिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । उनले भने, ‘महोत्सव संस्कृतिजस्तो बनेको छ । यसले अर्थतन्त्र चलायमान बनाउनेछ भने पोखराको प्रचारप्रसार र ब्राण्डिङमा पनि सघाउने छ ।’















