समानुपातिकको बन्दसूची बुझाउने समय परिमार्जन गर्न कांग्रेसको माग

केन्द्रभाग मिडिया

काठमाडौं।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तय गरेको समानुपातिकतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न माग गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार गरेको तीन दलका शीर्ष नेतासँगको बैठकमा सभापति शेरबहादुर देउवाले र गत सोमबार प्रधानमन्त्री कार्कीले नै बोलाएको सर्वदलीय बैठकमा सहमहामन्त्री महेन्द्र यादवले समानुपातिकको बन्दसूची बुझाउने समय परिमार्जन गर्न आग्रह गरेका हुन् ।

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन गर्ने कार्यतालिकासहितको मिति तोकेको छ । त्यो कार्यतालिकामा दलहरूले समानुपातिक तर्फको बन्दसूची बुझाउने समय पुस १३ र १४ गते अर्थात् आज र भोलिलाई तोकिएको छ । त्यो सूचीमा बुझाउन केही गाह्रो भएको भन्दै कांग्रेसले परिमार्जनका लागि आग्रह गरेको हो ।

शनिबार बालुवाटारमा प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचनबारे छलफल गरेकी थिइन् । त्यो छलफलमा कांग्रेस सभापति देउवाले आफूहरू सरकारले निर्वाचनको वातावरण बनाए निर्वाचनमा जान तयार रहेको बताएका थिए ।

तर, समानुपातिकतर्फको बन्दसूची बुझाउने समय अपुग हुने भन्दै परिमार्जनका लागि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।

त्यसअघि पुस ७ गते सोमबार प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले पनि बन्दसूची बुझाउने म्याद परिमार्जन गर्न माग गरेका थिए । मूल कार्यतालिकामा प्रभाव नपर्नेगरी समानुपातिक तर्फको सूची बुझाउने म्याद परिमार्जन गर्न उनको माग थियो । त्यो मागको खासै सुनुवाइ नभएपछि शनिबार देउवाले नै आग्रह गरे । त्यो आग्रह पनि सरकारले सुन्ने अवस्था त्यति देखिएको छैन ।

निर्वाचन आयोगले सरकारलाई आयोगले निर्धारण गरेको तिथि मिति परिवर्तन गरेमा निर्धारित मितिमा निर्वाचन हुन नसक्ने बताएको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आफूहरूलाई बन्दसूची बुझाउने मिति सार्न कसैको औपचारिक आग्रह नआएको तर, सरकारलाई आफूहरूले तिथि मिति परिवर्तन गर्न थालिए निर्धारित मितिमा निर्वाचन हुन नसक्ने बताएको जानकारी दिए ।

  • १३ पुष २०८२, आईतवार १५:३० प्रकाशित