पोखरा ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले मुलुकका सबै वैकल्पिक र नयाँ राजनीतिक शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
पोखरामा आयोजित उज्यालो नेपाल पार्टीको विशेष भेलालाई सम्बोधन गर्दै घिसिङले नेपाली जनताको चाहना नयाँ नेतृत्व र वैकल्पिक शक्तिहरूको एकता भएको उल्लेख गरेका हुन्।
उनले देशको वर्तमान अवस्थामा साना साना समूहमा विभाजित हुनुभन्दा एउटै मोर्चा बनाएर जानु वा कार्यगत एकता गर्नुको विकल्प नरहेको स्पष्ट पारे। उनले भने– ‘सबै एक बनाएर सही नेतृत्वहरू, वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ। सकेसम्म एक भएर जाने, नभए एउटा कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ। त्यो भएको हुनाले सबै नयाँ र मेनस्ट्रिम फोर्सहरू एक भएर जानलाई पनि म आव्हान गर्छु।’
नेपाली जनताले अबको नेतृत्व वैकल्पिक शक्तिहरूले लिउन् भन्ने चाहेको चर्चा गर्दै घिसिङले उज्यालो नेपाल पार्टी यसका लागि सधैँ खुला रहेको बताए। उनले पार्टीको आफ्नै पहिचान, सम्मान र स्वाभिमानलाई कायम राख्दै सबै नयाँ तथा ‘मेनस्ट्रिम’ फोर्सहरूसँग सहकार्य गर्न तयार रहेको घोषणा गरे ।
एकता र सहकार्यका लागि अहिले विभिन्न तहमा संवाद भइरहेको र आगामी दिनमा यसले ठोस परिणाम दिनेमा उनले विश्वास व्यक्त गरे । आफ्नो सम्बोधनका क्रममा घिसिङले वैकल्पिक शक्तिहरूबिचको सहकार्यले मात्रै मुलुकलाई नयाँ दिशा दिन सक्ने दाबी गरे।















