स्याङ्जाको अर्बकुना सुन्तला उत्पादन कृषक समूहले  गऱ्यो ९० लाखको सुन्तला बिक्री

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जाका सुन्तला उत्पादक कृषकहरुको एक समूहले एकैसिजनमा झण्डै ९० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको छ । जिल्लाको पुतलीबजार नगरपालिका–७ ठूलाडिहीस्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर यस वर्षमै करिब ९० लाख रुपैयाँ भित्र्याउन सफल भएका छन् ।

विगतका वर्षमा कोदो, मकै र गहुँ खेती गर्ने खेतीबारीमा नगदेबालीका रूपमा सुन्तला खेती गरेसँगै कृषकहरुले आम्दानी बढाएका हुन् । अर्बकुना सुन्तला उत्पादक समूहमा आबद्ध झण्डै ३५ कृषकले एक लाखदेखि १५ लाख रुपैयाँसम्म नगद आम्दानी लिन सफल भएका छन् । सुन्तला खेतीबाट समूहका सदस्यले पछिल्लो समय राम्रो आम्दानी लिएको समूहले जनाएको छ ।

‘समूहमा आबद्ध कृषकले सुन्तला बिक्रीबाट न्यूनतम एक लाखदेखि १५ लाखसम्म आम्दानी गरेका छन् ।’ समूहका अध्यक्ष यामबहादुर सेनले भने, ‘कोदो, मकै र गहुँ खेतीबाट घरपरिवार धान्नै धौधौ भएको समयमा बैकल्पिक सुन्तला खेतीबाट कृषकको राम्रो आम्दानी भएको छ ।’ गाउँका प्रत्येक घरले नगदेबाली सुन्तला खेती गरेसँगै राम्रो आम्दानी लिदै आएको अध्यक्ष सेनले जनाए ।

गाउँका सबै घरधुरीलाई समूहमा आबद्ध बनाएर सुन्तला खेती विस्तारमा केन्द्रित गरिएको छ । सुन्तला खेती विस्तार गरेसँगै आउँदा वर्षमा उत्पादन बढ्दै जाँदा कृषकको आम्दानीमा समेत वृद्धि हुँदै जाने विश्वास गरिएको समूहले जनाएको छ ।

सुन्तलाका पुराना करिब एकतिहाई बोटले उत्पादन दिर्दै आएकोमा पछिल्ला केहि वर्षदेखि थपिएका नयाँ बिरुवाले उत्पादन दिन थालेपछि प्रत्येक सदस्यले थोरैमा लाखौं र समूह मार्फत डेढ करोड रुपैयाँ कमाउने अपेक्षा गरिएको छ

कृषकद्धारा उत्पादित कतिपय सुन्तला बोटबाटै बिक्री हुँदै आएको भने समूहमार्फत बिक्री हुने सुन्तला जिल्ला बाहिर निकासी हुँदै आएको छ । एकमुष्ठ धेरै सुन्तला खरिदका लागि बगैचामै आउने व्यापारीलाई कृषकले ठेक्कमा बिक्री गर्ने गरेका छन् । कृषकले सुन्तलाको बोट र उत्पादनको आधारमा व्यापारीसित बोलकबोलमा मूल्य निर्धारण गर्दै आएको समूहका सचिव टोपबहादु भुजेलले बताए ।

प्रतिकिलो ६० देखि ७० रुपैयाँका दरले व्यापारीलाई सुन्तला बिक्री गरेको स्थानीय कृषकले जनाएका छन् । सुन्तलाको बिक्री वितरण र आम्दानीको हिसाबकिताब समूहमार्फत गरिदै आएको छ । सामूहिक रूपमा बस्ने बैठकले बजारीकरण र मूल्य निर्धारण गरिन्छ भने बगैचा व्यवस्थापन र आपतकालिन समस्या र समाधानका विषयमा छलफलबाटै सामूहिक समाधानको बिकल्प खोजिने गरेको समूहका सचिव भुजेलले जनाए ।

जिल्लामा सुन्तला उत्पादनको सम्भावना र विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सुन्तला सुपरजोन सञ्चालनमा छ । आर्थिक वर्ष २०७३÷०७४ बाट संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोनबाट सुपरजोनमा रुपान्तरण भएसँगै सुन्तलाको बगैंचा विस्तारलाई तीव्रता दिइएको छ । स्वादिष्ट र गुणस्तरिय सुन्तला उत्पादनका दृष्टिले स्याङ्जाको छुट्टै पहिचान बन्दै गएको छ ।

 

  • १० पुष २०८२, बिहीबार १५:१० प्रकाशित