निर्वाचनका लागि पहिले संसद फर्किनुपर्छ : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले संसद् फर्किनुपर्ने अडान राखेको बताएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको प्रधानमन्त्री सुशीला कार्कीसहितको वार्तामा आफूले त्यस्तो अडान राखेको बताएका हुन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित उक्त वार्तामा यस्तो अडान राखिएको उल्लेख गरेका हुन् ।

‘शीतल निवासमा प्रधानमन्त्री पनि आउनु भएको थियो । त्यहाँ राष्ट्रपति पौडेलको जोड चुनाव गराउनुपर्ने थियो’, उनले भने, ‘तर हामीले त्यहाँ देश अग्रगमनको बाटो गएको छैन, प्रतिगमनमा गएको छ। त्यसैले पहिले संसद् फर्किनुपर्ने कुरा राख्यौँ ।’

उनले त्यहाँ आफूहरूले प्रष्टसँग संसद् फर्किएपछि मात्रै चुनावमा जानु उचित हुने बताएको जानकारी दिए । ‘हामी प्रतिगमन विरोधी हौँ । चुनाव हुनु हुँदैन भन्ने हाम्रो कुरा होइन, प्रतिगमन हुनु हुँदैन भनेको हो’, उनले भने, ‘सकेसम्म छिटो हामीलाई संसद्को उपस्थिति चाहिन्छ । हामीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्यौँ ।’

त्यसपछि त्यहाँ अदालतले जे फैसला गर्छ, त्यसलाई मान्ने कुरा भएको पनि बताए । ‘त्यहाँ अदालतले जे फैसला गर्छ, त्यसलाई मान्ने कुरा भएको छ’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्री चुनाव गराऊँ भन्नु हुन्छ । तर खै त वातावरण बनेको रु चुनावका लागि शान्तिपूर्ण वातावरण बन्नुपर्छ ।’

उनले अहिले पनि विभिन्न ठाउँमा दलका नेता-कार्यकर्ताहरूमाथि आक्रमण हुने क्रम जारी रहेको बताए । ‘नेता-कार्यकर्तामाथि आक्रमणसँगै कसैलाई कतै जान नदिने काम भएको छ। नेताहरूमाथि प्रतिबन्ध कायमै छ’, उनले भने, ‘सामाजिक सञ्जालबाट दुष्प्रचार भइरहेको छ । त्रास खडा गर्ने वातावरण बनाइएको छ।
जेनजीका नाममा बच्चाबच्चीलाई त्रास देखाए जस्तो चलिरहेको छ ।’

उनले अहिले पनि जेनजीले तर्साउँछ भनेर मतदातालाई डर देखाइएको बताए ।

  • १० पुष २०८२, बिहीबार १४:१३ प्रकाशित