काठमाडौं।
नेपाल पर्वतारोहण संघ (एनएमए) ले रिक्त रहेको मुख्य लेखा अधिकृत पदका लागि अनुभवी र योग्य जनशक्ति माग गरेको छ।
संघले संस्थाको आर्थिक गतिविधिहरूको नेतृत्व र व्यवस्थापन गर्नका लागि पूर्णकालीन करार सेवामा काम गर्ने गरी आवेदन आह्वान गरेको हो। इच्छुक उम्मेदवारले आगामी सन् २०२५ को जनवरी ६ तारिखभित्र आफ्नो आवेदन दिइसक्नुपर्नेछ।
यस पदका लागि आवेदन दिन चाहने उम्मेदवारले अर्थशास्त्र, व्यवस्थापन वा लेखा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। योग्यताका साथै कार्य अनुभवको हकमा नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा ५ वर्ष वा राजपत्राङ्कित तृतीय श्रेणीको पदमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन प्रणालीबारे जानकार, नेतृत्व क्षमता भएको र अङ्ग्रेजी भाषामा दख्खल राख्ने व्यक्तिलाई प्राथमिकता दिइने संघले जनाएको छ।
आवेदन दिने उम्मेदवारको उमेर ४५ वर्षभन्दा बढी हुनुहुँदैन। छनोट भएका कर्मचारीले सुरुमा ६ महिनाको करार अवधिमा काम गर्नुपर्नेछ भने कार्यसम्पादन र आवश्यकताका आधारमा उक्त अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ। इच्छुक उम्मेदवारले आफ्नो विस्तृत व्यक्तिगत विवरण ९सीभी० संघको आधिकारिक इमेल ठेगानामा पठाउनुपर्नेछ।















