सप्तरी ।
सप्तरीको तिरहुतबाट आइतबारदेखि हराइरहेका चार जना बालबालिकालाई सशस्त्र प्रहरीले सकुशल फेला पारेको छ।
तिरहुत गाउँपालिका–३ गोइठीका ७ वर्षीया श्रृष्ठी कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार र ६ वर्षीय कृष्ण सरदारलाई सोमबार हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रबाट उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहको गस्ती टोलीले कोशी ब्यारेजमा बालबालिकाहरूलाई शङ्कास्पद र अलपत्र अवस्थामा देखेको थियो। सुरक्षा फौजले सोधपुछ गर्दा उनीहरूले आफ्नो घरठेगाना र त्यहाँ पुग्नुको कारण खुलाउन सकेका थिएनन्। कसैले ललाइफकाइ गरेर ती बालबालिकालाई त्यहाँसम्म पुर्याएको हुन सक्ने अनुमान गरिएको छ।
फेला परेका चारै जना बालबालिकालाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र गाउँलेहरूको रोहबरमा अभिभावकको जिम्मा लगाइएको छ। घरबाट हिँडेर अलपत्र परेका बालबालिकाहरू सकुशल फेला परेपछि उनीहरूका परिवारले राहत महसुस गरेका छन्।














