काठमाडौं ।
नेकपा एमालेका नेता ईश्वर पोखरेल भदौ २३ गतेको घटनाको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपी ओली भएको बताएका छन् । कार्की बैंक्वेटमा शनिबार एमालेमा आफू पक्षीय प्यानलको धन्यवाद भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ओलीले कमजोरी नस्वीकारे कम्युनिस्ट आन्दोलन सकिने टिप्पणी गरे ।
उनले अध्यक्ष ओली तर्फ लक्षित गर्दै भने, ‘म जे बोल्छु त्यही हो एमाले सुन्दा पनि आङ सिरिङ हुन्छ । म भएन भने एमाले हुन्न यो के भनेको हो ।’ नेता पोखरेलले आफूहरुले विभाजन अस्वीकार गर्ने तर आत्मसमर्पण भने मन्जुर नभएको सुनाए । ‘हामी विभाजन अस्वीकार गर्छौँ तर आत्मसमर्पण पनि मन्जुर छैन’ उनले भने ।
भेलामा ईश्वर पोखरेल प्यानलबाट लडेका नेता कार्यकर्ताहरूको सहभागी छ । भेलामा पोखरेल प्यानलबाट जितेका उपाध्यक्ष गोकर्ण बिस्ट र उपमहासचिव योगेश भट्टराई पनि सहभागी छन् । त्यस्तै, भेलामा एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, कर्णबहादुर थापा, गोकुल बास्कोटालगायतका नेता पनि सहभागी छन्। आन्तरिक छलफलका लागि भेला आयोजना गरिएको विष्टले जानकारी दिए ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा केपी ओलीसँग भिडेको पोखरेल समूहले अपेक्षित नतिजा ल्याउन नसकेपछि आज आन्तरिक छलफलमा जुटेका हुन् ।















