पोखरा ।
पोखरा महानगरपालिकाले आज आफ्नो ६७ औं स्थापना दिवस मनाउँदैछ । आज प्रभातफेरीसहित मुल समारोका बीच पोखरेली नवरत्न सम्मानसहित विविध कार्यक्रम गरेर महानगरले स्थापना दिवस मनाउन लागेको हो ।
पोखरा महानगरपालिकाको स्थापना पछि पहिलो पटक यसपालि स्थापना दिवस मनाउन लागिएकाले यो विशेष रहेको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् ।
स्थापना दिवसको मुल समारोहमा आज आजको पोखरा निर्माणमा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान गर्ने पोख्रेली नवरत्नहरुलाई सम्मान गरिने कार्यक्रम छ । भाषा साहित्य, कला (संगीत, नृत्य, नाट्य, चित्रकला) र अन्य क्षेत्रहरुमा महत्वपूर्ण योगदान गर्ने व्यक्त्विहरु मध्येबाट ९ जना पोख्रेली नवरत्नहरुलाई आज नगद २ लाख २ हजार २०२ रुपैयाँसहित ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने छ ।
यस्तै महानगरपालिकामा कार्यरत कर्मचारीहरु मध्येबाट सर्वोकृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जना कर्मचारीलाई सम्मान गरिने भएको छ ।
यस्तै महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान कार्यक्रम समेत छ । महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजश्व तिर्ने उत्कृष्ट करदातालाई र महानगरपालिकाका ३३ वटै वडाहरु मध्येबाट सरसफाईमा उत्कृष्ट ३ वटा वडालाई सम्मान गरिने भएको छ ।
मुल समारोहमा पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेश नगरका प्रमुख तथा प्रतिनिधिहरु, देशका सबै महानगरपालिका, उपमहानगरपालिकाका प्रमुखहरु, छिमेकी पालिकाका प्रमुखहरु, पोखरा महानगरपालिकाका पूर्व पदाधिकारीहरु, पूर्व प्रशासकीय अधिृकतहरु लगायत विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ ।
रेकर्ड अनुसार २ पुस २०१६ मा तत्कालीन नगरको रूपमा महानगरपालिकाको स्थापना भएको पाइएको छ । त्यतिबेला नगर भित्र ५ हजार जनसंख्या रहेको तथ्यांक छ । पाँच हजार जनसंख्याबाट सुरु भएको पोखरा नगरपालिका ३६४ दिनको दिनमा नगरपालिकाबाट नगरपञ्चायतमा परिणत भएको थियो । १ पुस २०१७ मा पञ्चायत सुरु भएको, २०४७ सालमा फेरि नगरपालिका, २०५२ सालमा उपमहानगरपालिका, २७ फागुन २०७३ मा पोखरा लेखनाथ महानगरपालिका हुँदै २३ फागुन २०७५ मा पोखरा महानगरपालिका बनेको हो ।















