काठमाडौं ।
नेकपा एमालेको काठमाडौंमा जारी ११ औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान गर्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्न महाधिवेशनका प्रतिनिधि तथा उम्मेदवारहरू लामबद्ध भएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार विहन नै मतदान गर्ने भनिएपनि विभिन्न कारणले मतदानको समय आजका लागि सारिएको हो । आज विहन ८ बजेबाट मतदान सुरु गर्ने भनिएपनि त्यसको केही ढिलो गरी मतदान गर्न मतदाता लामबद्ध भएका छन् ।
एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । आजको चुनावबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन् ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलसहित ६ सय ५० हाराहारी उम्मेदवार छन् । तर यसबीच कतिपय सदस्य निर्विरोध निर्वाचित समेत भइसकेका छन् । एमालेको नयाँ नेतृत्व वर्तमान अध्यक्ष केपी शर्मा ओेलीले नै गर्नेछन् वा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भन्ने चासोपूर्वक हेरिएको छ ।















