कुमुदिनी होम्समा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ४ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सको ३९ औंं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरिरहेको विद्यालयले जनाएको छ । गएको वर्ष जस्तै यसपालि पनि विद्यार्थी तथा विद्यालयहरुबीच भाइचाराको संस्कारमा वृद्धि तथा अपनत्वको अनुभव गराउन विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता आयोजना गरिएको जनाईएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले यसपालि ५० विद्यालयका ९६ जना विद्यार्थीहरु चित्रकला प्रतियोगितामा सहभागी भएका बताए। उनीहरुले स्वतन्त्र रुपमा आफूले चाहेको विषयमा चित्रहरु बनाएका छन् । प्रतियोगितामा कक्षा ५ देखि ८ कक्षासम्म जुनियर र कक्षा ९ देखि १२ कक्षासम्मका सिनियर गरी दुई समूहमा प्रतियोगिता सम्पन्न भएका छन् । कलाकारहरू सुदिन श्रेष्ठ र बाबुराम बस्ताकोटी निर्णायक रहेको प्रतियोगितामा जुनियरतर्फ ज्ञानगङ्गा विद्यापीठका रविन गुरुङ प्रथम, ग्लोबल कलेजियट स्कुलका श्रेयाश गुरुङ द्वितीय र शिशु कल्याण माध्यमिक विद्यालयका सुमी गुरुङ तृतीय भएका छन् ।

त्यसै गरी सिनियरतर्फ हावर्ड एकेडेमीका तेजश सुनार प्रथम,बालोदय माध्यमिक विद्यालयका मिनुका गुरुङ द्वितीय र कास्की मोडनाइज्ड एकेडेमीका एलिशा श्रेष्ठ तृतीय भएका छन् । विजेता विद्यार्थीलाई पुस ५ गते हुने विद्यालयको ३९ औं वार्षिकोत्सव समारोहमा पुरस्कार दिईने भएको छ ।

‘हामीले कला, संस्कृतिको प्रवर्द्धनका लागि विद्यालयमै जे।के। आर्ट म्युजियम बनाएका छौं । जहाँ देशका प्रख्यात कलाकारका चित्रहरु राखिएको छ । नेपालमै १० हजार निजी विद्यालयहरुमा यस प्रकारको म्युजियम नभएको त्यो अभावलाई हामीले केही गरौं भन्ने हिसाबले स्थापना गर्‍यौँ,’  पालिखेले भने ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले कास्कीको दुर्गममा रहेका विद्यालयलाई खाजा तथा शैक्षिक सामग्री सहयोग, आश्रमहरुमा खाद्यान्न सहयोग तथा खेलकुद लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरिएको शिक्षक सुरेन्द्र सदिच्छाले बताए ।

  • १ पुष २०८२, मंगलवार २१:२५ प्रकाशित