एमाले महाधिवेशनमा आज मतदान

अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बिच प्यानलसहितको प्रतिस्पर्धा, मतदानका लागि ८० वटा विद्युतीय मोटिङ मेसिन प्रयोग हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको ११ महाधिवेशनअन्तर्गत आज (मंगलबार) नेतृत्व चयनका लागि मतदान हुँदैछ । तेस्रोपटक संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार राति ९ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ ।

जसअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्यानलसहितकै उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारी र सदस्यमा दुबै प्यानल बाहेक केहीले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन् ।

पाँच उपाध्यक्ष पदका लागि ११ जनाले प्रतिस्पर्धा गर्दैछन् । उपाध्यक्षमा प्रतिस्पर्धा गर्नेमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, परशुराम मेघी, गुरुङ पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा बिन्दा पाण्डे र विष्णुप्रसाद पौडेल छन् ।

एक महासचिवका लागि अध्यक्ष ओलीको प्यानलबाट शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । यस्तै तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल प्रतिस्पर्धामा छन् ।

यसैगरी नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ । विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।

निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।

उनका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।

 

  • १ पुष २०८२, मंगलवार ०७:४६ प्रकाशित