रूपन्देही।
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
रूपन्देहीको भैरहवा-परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडानम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
ज्यान गुमाउनेमा ओमसतिया गाउँपालिका वडानम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादव रहेको नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग११प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो ।
गम्भीर घाइते भएका सो मोटरसाइकलमा सवार दुवै जनालाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा उनीहरूको ज्यान गएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।














