विराटनगर ।
नेकपा एमालेका नेता तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले अध्यक्ष केपी शर्मा ओली समूहमा राखिएको केन्द्रीय सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् ।
ओली समूहले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय समितिका उम्मेदवारको नाम टुङ्गो लगाएको थियो, जसमा खरेल केन्द्रीय समिति सदस्यको लिस्टमा छन् ।
यद्यपि खरेलले आफू केन्द्रीय सदस्यमा नलड्ने घोषणा गरेका छन् । उनले आफू सचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।
अध्यक्ष ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी र पदाधिकारीको ‘टिम’ मा आफू नपरेको विषयमा प्रतिक्रिया दिँदै खरेलले भने, ‘केन्द्रीय समितिको टिममा होला, त्यो आफ्नो ठाउँमा छ, मलाई त्यसमा केही भन्नु छैन । तर मैले खोजेको पदाधिकारी हो, त्यसमा (अध्यक्षको सूचीमा) नाम छैन । म सचिव पदमा आफ्नो उम्मेदवारी दिन्छु ।’
खरेलले आफू कुनै अर्को समूह वा प्यानलबाट नभई नितान्त स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिने स्पष्ट पारेका छन् ।
उनले महाधिवेशन प्रतिनिधिहरूको विवेकमाथि आफूलाई विश्वास रहेको बताए । ‘उहाँहरूले मत दिने नदिने उहाँहरूको इच्छाको कुरा हो । उहाँहरूको इच्छामा म कुनै अवरोध गर्दिनँ, तर म आफूलाई लागेको काम गर्छु । यो मेरो अधिकार हो,’ खरेलले भने ।
उनले महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्ने प्रवृत्तिको भने विरोध गरेका छन् । उनले कम्तीमा पनि पदाधिकारी तहमा प्यानल नबनाई स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने आफ्नो धारणा रहेको बताए ।















