एमालेमा नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु

नेतृत्व गर्न अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल पक्ष बीच प्रतिस्पर्धा हुँदै, सहमतिको प्रयास पनि जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको नेतृत्व चयनका लागि आज (सोमबार) देखि निर्वाचन प्रक्रिया सुरु  भएको छ । त्यसका लागि तालिका सार्वजनिक भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने छ ।

एमालेको ११औं महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो ।

आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने पस्चात नेतृत्व चयनका लागि आवश्यक परे मतदान समेत गर्ने भनेर सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार आज बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ । लगत्तै दिउँसो १स्३० बजेसम्म उम्मेदवारहरुको दरखास्त फारम दर्ता गर्ने कार्यक्रम छ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसपछि १ पुसको मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

 

  • २९ मंसिर २०८२, सोमबार ०८:५१ प्रकाशित