काठमाडौं ।
अस्ट्रेलियाको बोन्डी बिच (समुद्र तट) मा हनुक्का मनाइरहेका यहुदीहरूमाथि दुई बन्दुकधारीले अन्धाधुन्धा गोली चलाएका छन् । आइतबार अस्ट्रेलियाली प्रहरीले गोली लागेर कम्तीमा १२ जनाको ज्यान गुमेको पुष्टि गरेको छ भने २९ व्यक्ति घाइते भएको जानकारी दिएको छ ।
स्थिति नियन्त्रण गर्न प्रहरीले दुवै आक्रमणकारीलाई गोली हानेको छ । अधिकारीहरूका अनुसार एक आक्रमणकारीकोज्यान गुमेको छ भने अर्का गम्भीर भएका छन् ।
घटनाका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन् । भिडिओमा उत्तरी बोन्डी बिचमा धेरैवटा शव छरिएको देखिन्छ । यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटनाले स्तब्ध पारेको बताएका छन् ।
उनले राष्ट्रलाई सम्बोधन गर्दै भनेका छन्, ‘यहुदी जनतामाथिको आक्रमण हरेक अस्ट्रेलियालीमाथिको आक्रमण हो ।’
उनले अगाडि भनेका छन्, ‘हाम्रो देशमा घृणा, हिंसा र आतंकवादका लागि कुनै ठाउँ छैन । म स्पष्ट पार्न चाहन्छु–हामी यसलाई पूर्ण रूपमा अन्त्य गर्नेछौँ ।’
यस्तै इजरायलका राष्ट्रपति इसाक हर्जोगले यसलाई ‘यहुदीहरूमाथिको आतंकवादी आक्रमण’ भनेका छन् । टेसा वोङका अनुसार गोली चल्नुभन्दा करिब एक घण्टाअघि मात्र उनले त्यो पुल पार गरेकी थिइन् ।














