काठमाडौं ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएका छन् ।१९औँ संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधिसभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि संसद् सेवाका कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
‘हामी निर्वाचनको तयारीमा लागेका छौँ । निर्वाचन गरेपछि प्रतिनिधिसभालाई अझ जीवन्त बनाउन हामी सबैको सहयोगको आवश्यकता रहेको छ । जनप्रतिनिधिहरूको सर्वोच्च संस्था रही कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेको संघीय संसद्को विशेष सहयोगीको रूपमा रहेको संसद् सेवालाई लिइन्छ । यो सेवा एक विशिष्टकृत सेवा हो,’ उनले भने ।
उनले कानुनहरू स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्नका लागि सरकारले अध्ययनको कामलाई अघि बढाएको बताए । त्यसमा संघीय संसद्को सुझाव अति उपयोगी हुने उनको भनाइ छ ।
मन्त्री सिन्हाले कानुन निर्माण गर्ने संघीय संसद्को कामलाई प्रभावकारी बनाउने काममा कर्मचारीहरूको योगदान उल्लेख्य हुने बताए ।मन्त्री सिन्हाले संघीय संसद्को कामलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षले विशेष भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।















