एमाले केन्द्रीय कमिटी : ४० वर्षमुनिका युवालाई १५ प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले)मा केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवालाई कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने आवाज उठेको छ।

एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपस्थित बन्दसत्र हलमै आइतबार बसेको केन्द्रीय समिति बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकभित्र युवाको प्रतिनिधित्व बढाउनुपर्ने विषयमा गम्भीर छलफल भएको जानकारी दिए। उनका अनुसार ४० वर्षभन्दा कम उमेर समूहको प्रतिनिधित्व १५ प्रतिशतसम्म हुनुपर्ने आवाज बैठकमा उठेको हो।

गौतमले अन्डर–४० को प्रतिनिधित्वका लागि आवश्यक क्लस्टर कसरी बनाउने भन्ने विषयमा अन्तिम निर्णय बाँकी रहेको बताए। उनले पुराना विद्यमान क्लस्टरहरूभित्रै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको जानकारी दिए। यस विषयमा केन्द्रीय कमिटी सदस्यहरूको विशेष जोड रहेको र अन्तिम निर्णय छलफलपछि गरिने उनको भनाइ छ।

बैठकमा पार्टीका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले आगामी कमिटीमा नबस्ने घोषणा गरेको पनि गौतमले जानकारी दिए। उनका अनुसार दुवैले केन्द्रीय कमिटी बैठकमै आफू नेतृत्व प्रतिस्पर्धामा नजाने र मत नमाग्ने स्पष्ट पारेका हुन्।

यस्तै उनले जेनजीलाई ध्यानमा राखेर एमालेले २५१ सदस्यीय केन्द्रीय समिति संख्या हेरफेर गरेर ३०१ सदस्यीय बनाउने बैठकले निर्णय गरेको बताए ।

त्यही आधारमा ९९ देखि १०१ जनासम्मको पोलिटब्युरो र ३० देखि ३३ जनासम्मको स्थायी कमिटी हुनेगरी महाधिवेशन हलमा पेस गरिने उनले बताए । यस्तै पदाधिकारीको संख्या वरिष्ठ उपाध्यक्ष बिनै १९ सदस्यीय बनाइने भएको छ ।

  • २८ मंसिर २०८२, आईतवार १३:३९ प्रकाशित