भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध हुँदैन : नेपाल

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अबको पार्टी इमानदारहरूको पार्टी हुने उल्लेख गरे ।

उनले थपे, ‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरिएन भने तथा साझा भावना अगाडि बढाउन सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन । त्यसैले हामीले विगतका कमजोरी स्वीकार गर्दै इमानदार तरिकाले काम गर्ने सोचेर नै पार्टी एकता गरेका हौं ।’

नेता नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले गरेका कामहरूको बचाउ समेत गरेका छन् । उनले आफू र प्रचण्ड प्रधानमन्त्री हुँदा धेरै राम्रा कामहरू भएको दाबी गरे । ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम पनि गरेका छौं, तर केही गरेनन् भन्छन् ।’ नेपालले भने, ‘मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम र युवालाई रोजगारी दिने जस्ता महत्त्वपूर्ण कामहरू कम्युनिस्ट सरकारकै पालामा भएका छन् ।’

उनले जनअपेक्षा अनुसार जति काम हुनुपर्ने थियो, त्यो नभएको हुनसक्ने भने स्वीकार गरे । ‘जति गर्न सक्नुपर्थ्यो त्यो नभएका होलान्, तर केही नभएको होइन । हामीले शिर निहुराउनुपर्ने अवस्था छैन’ उनले भने ।

  • २७ मंसिर २०८२, शनिबार १७:४८ प्रकाशित