एमालेको ११ औं महाधिवेशन आजदेखि, यी स्थानबाट निस्कनेछ जुलुस

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेकपा एमालेको ११ औं महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।

महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।

एमालेले काठमाडौंतर्फबाट जाने सहभागी सहितको गाडीलाई गट्ठाघरमै रोक्नेछ । त्यहाँबाट महाधिवेशन स्थलसम्म ३.१ किलोमिटर दूरी छ । त्यति दूरी जुलुससहित पुग्ने गरी व्यवस्थाबपन मिलाइएको उनले बताए । पूर्वी नाका हुँदै आएका गाडीहरू जगातीमै रोकिनेछन् । त्यहाँका इँटा भट्टा, प्लटिङ आदि स्थलमा पार्किङ व्यवस्थापन गरिएको छ ।

‘ललितपुरबाट आएको गाडी, सहभागीहरू शंखघर चोकमा जम्मा हुने र त्यहाँबाट जुलुससहित सभा स्थल जाने तय गरिएको छ ।

पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ रहेको सर्भिस लेन प्रयोग गरी अघि बढाइने बताएका छन्।

सहभागीहरू कार्यक्रमको अन्तिमसम्म सल्लाघारीको चौरमै उपस्थित रहन निर्देशित गरिएको पनि उनले बताएका छन् ।

 

 

  • २७ मंसिर २०८२, शनिबार ०८:५७ प्रकाशित