नागढुङ्गा- मलेखु सडकखण्ड आज र भोलि बन्द नहुने

केन्द्रभाग मिडिया

काठमाडौं।

नागढुङ्गा-मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार) बन्द नहुने भएको छ । नेकपा एमालेको आग्रहमा दुई दिन सडक बन्द नगरिने नागढुङ्गा–मुग्लिन सडक योजनाले जानकारी दिएको हो ।

नेकपा (एमाले) को ११ औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा दुईदिन आवतजावत नरोक्ने निर्णय नागढुङ्गा–मुग्लिन सडक योजनाले गरेको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट सडक आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका लागि अब सडक बन्द नगरिने आयोजनाले जनाएको छ ।

त्यसपछि भने कार्यतालिकाअनुसार नै तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए ।

‘सडक स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौँको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मङ्सिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर काम गरिरहेका थियौँ,’ उनले भने, ‘एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी आज र भोलि सडक बन्द नगर्ने निर्णय गरेका छौँ ।’

युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए ।

सडक विभागले काठमाडौँ जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।

  • २६ मंसिर २०८२, शुक्रबार १०:०९ प्रकाशित