काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल पुग्न लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु जितका लागि एक सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ३४ रनको योगफल तयार पारेको हो । लुम्बिनीका लागि ओपनर डार्सी सर्टले बनाएको ४५ रन नै सर्वाधिक रह्यो। उनले ४१ बलमा चार चौका र एक छक्का प्रहार गर्दा सुवास भण्डारीको बलमा मार्टिन गप्टिलको हातबाट क्याच आउट भए ।
कप्तान रोहित पौडेलले ३४ रन थपे । ३० बलमा दुई चौका र दुई छक्का प्रहार गरेका रोहित ३४ रन बनाउँदा सुवासकै बलमा बोल्ड आउट हुन पुगे ।
त्यस्तै, २२ बलमा चार चौका सहयोगमा २९ रन बनाएका निरोसन डिकवेल्ला लामो सट खेल्ने धुनमा सन्दीप लामिछानेको बलमा साम हेजलेटको हातबाट क्याच आउट हुन पुगे ।
विराटनगरविरुद्ध राम्रो सुरुवात गरेको लुम्बिनीको मध्यक्रम लामो समय क्रिजमा टिक्न नसक्दा विशाल योगफल बनाउन असफल भयो ।
१३।५ ओभरमा तीन विकेट गुमाएर ९७ रन बनाएको लुम्बिनीले त्यसपछि लगातार विकेट पतन हुँदा विशाल योगफल बनाउन सकेन । लुम्बिनीले १४।५ ओभरपछि १३ बलमा सात रन जोड्दा तीन विकेट गुमाएपछि दबाबमा आएको थियो ।
ओपनर दिनेश अधिकारी एक रन बनाउँदा सुवास भण्डारीको बलमा साम हेजलेटको हातबाट क्याच आउट भए । सन्दीप जोरा र जेजे स्मिथ शून्य रनमा नै पेभेलियन फर्के ।
दिलीप नाथ एक रनमा नै पेभेलियन फर्के । शेर मल्ल सात रन बनाउँदा प्रतिशको जिसीको बलमा मार्चेन्टको हातबाट क्याच आउट भए । रुवेन ट्रम्पलम्यान ११ रनमा नटआउट रहे ।
विराटनगरका लागि सुवास भण्डारीले तीन विकेट लिए । उनले आफ्नो स्पेलमा १४ रन मात्र दिए ।
त्यस्तै, प्रतिश जिसीले चार ओभरमा २६ रन दिएर तीन विकेट लिए । सन्दीप लामिछानेले दुई विकेट आफ्नो नाममा गरे । सन्दीपले चार ओभरमा १८ रन दिए ।
विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
यो खेलको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो ।














