परिपत्र अनुसार मात्रै उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि परिपत्रअनुसार मात्रै उम्मेदवार सिफारिस गर्न मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा पार्टीको परिपत्र अनुसार सिफारिस गर्न निर्देशन दिएका हुन् ।

‘तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देश भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ,’ मुख्यसचिव पौडेलले परिपत्रमा लेखेका छन् ।

कांग्रेसले मंसिर १५ र १७ गते परिपत्र गर्दै प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार सिफारिस पार्टी विधानको धारा ३०, धारा ३३ ९२० तथा धारा ६९ बमोजिमको मापदण्ड तोकेको थियो ।

कांग्रेसले परिपत्रमा योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर सिफारिस गर्न निर्देशन दिइएको थियो ।

तर, पार्टीका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मापदण्डविपरीत उम्मेदवार सिफारिस गरेपछि बिहीबार तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा उम्मेदवारको सिफारिस गर्न ध्यानाकर्षण गराएको हो ।

  • २५ मंसिर २०८२, बिहीबार १५:२५ प्रकाशित