काठमाडौं ।
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटको खेलमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो ।
अब दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । यो खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७।४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३३ रनको योगदान दिए ।
ओपनिङमा मौका पाएका दिनेश अधिकारी ४ रनमै आउट भए । कप्तान रोहित कुमार पौडेलले २५ बल खेलेर १ चौका र १ छक्काको मद्दतमा १८ रन जोडे।
सन्दीप जोरा २३ रन जोडेर आउट भए । निरोशन डिक्वेलाले १४ रन जोडे । रुबेल ट्रम्पलम्यानले चौका प्रहार गरेर लुम्बिनीलाई जिताए ।
बलिङमा काठमन्डुका सन्तोष यादवले २ विकेट लिए । करण केसी, सनी पटेल, शाहब आलाम र रशिद खानले १(१ विकेट हात पारे।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो । काठमान्डुको पावरप्लेभित्रै चार विकेट गुमेको थियो ।
काठमान्डुका शीर्ष चार ब्याटर दोहोरो अंक जोड्न नपाइ आउट हुँदा टोली संकटमा पारेको थियो । काठमान्डुका ओपनिङ ब्याटर आकाश त्रिपाठीलाई एक रन मात्र बनाए। सनी पटेल ७ रन मात्र जोड । भारतीय मूलका अमेरिका ब्याटिङ अलराउन्डर मिलिन्द कुमार २ रनमै आउट भए ।
ओपनर बेन चार्ल्सवर्थले जम्मा ४ जोडेर पेभेलियन फर्किए । लगातार विकेट लिएको लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले दशौं ओभरमा दुई विकेट लिएपछि लुम्बिनी खेलमा हाबी भयो । रोहितले पहिलो बलमा भीम सार्कीलाई दिलिप नाथबाट क्याच गराए । सार्कीले १४ रन जोड्ने क्रममा १६ बलमा १ छक्का प्रहार गरे ।
उनले जोन सिमसनसँग पाँचौ विकेटका लागि ३६ रनको साझेदारी गरे। पाँचौ बलमा सिमसन पनि एलबिडब्लूको धरापमा परे। सिमसनले १७ बलमा १८ रन जोड्ने क्रममा १ चौका र १ छक्का प्रहार गर्न सफल भए। त्यतिबेला काठमान्डुले ९।५ ओभरमा ६ विकेटको क्षतिमा ५१ रन मात्र जोडेको थियो।
दुई ओभरको बीचमा थप एक रन जोड्दा काठमान्डुले आफ्नो सातौ विकेट गुमायो। रशिद खानलाई कप्तान रोहितले २ रनमा जेजे स्मिटबाट क्याच गराएका थिए।
१४औं औभरमा काठमान्डुका आशा गरिएका ब्याटर आदिल अन्सारी १८ रन जोडेर आउट भए। उनले ११ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए। उनलाई शेर मल्लले बोल्ड गर्दै पेभिलियन फर्काए। उनले सन्तोष यादवसँग आठौं विकेटका लागि २० रनको साझेदारी गरे।
कप्तान करण केसी १४ बलमा ९ रन जोडेर आउट हुन पुगे। अन्तिम ओभरमा सन्तोष यादव २३ रनमा रनआउट भए। काठमान्डुका लागि सर्वाधिक रन जोडेका यादवले १७ बल खेलेर १ छक्का प्रहार गर्न सके।
बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले ३(३ विकेट लिए। मल्लले ४ ओभरमा २२ रन दिए भने रोहितले २५ रन खर्चिए। यस्तै ट्रम्पलम्यानले २ विकेट लिए। उनले ३।१ ओभरमा १ मेडन राख्दा १० रन मात्र दिए।
आजको खेलमा काठमान्डुले कुनै परिवर्तन गरेको थिएन। लिगको अन्तिम खेल खेलेको टोलीलाई नै काठमान्डुले मैदान उतारेको थियो। यता लुम्बिनीमा एक परिवर्तन गर्यो। सुमित महर्जनको स्थानमा दिनेश अधिकारीलाई मौका दिइएको थियो।
आजको खेलमा जित निकालेसँगै लुम्बिनीले भोलि बिहीबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेता फाइनलमा पुग्नेछ।
यसअघि सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरिसकेको छ। सुदूरपश्चिमले पहिलो क्वालिफायरको खेलमा विराटनगरमाथि मंगलबार जित हात पारेको थियो। फाइनल प्रतिस्पर्धा शनिबार अपरान्ह साढे तीन बजे हुनेछ ।














