ओलीबाट महिलाप्रति अपमानमात्रै भयो, यस्तो नेतृत्व चाहिँदैन : अष्टलक्ष्मी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरूलाई सधैं अपमान गरेको आरोप लगाएका छन् ।

एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर अपमान गरेकोप्रति उनले आपत्ति जनाइन् ।

गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरू प्रयोग गर्ने गरेको उनको आरोप छ ।

‘उहाँ (केपी शर्मा ओली)मा सोच नै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको गर्‍यै छ,’ शाक्यले आक्रोश पोखिन्, ‘आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाले ओगटिरहेको अवस्थामा, महिला हिंसाविरुद्धको यत्रो १६ दिने अभियान मात्रै होइन, निरन्तर आवाज उठिरहको बेलामा यो खालको शब्द प्रयोग गर्ने भनेको सबै महिलाहरूको अपमान हो । यसको विरुद्ध सशक्त आवाज उठ्नुपर्छ ।’

महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनुपर्ने शाक्यको भनाइ छ । महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यक्ता नभएको उनको उनले बताइन् ।

  • २३ मंसिर २०८२, मंगलवार १६:५९ प्रकाशित