काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सक्रिय राजतन्त्रसँग आफूहरु सहमत नरहेको बताउँदै नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताए ।
उनले यसबारे आफूहरुले राजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि बताए। नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भुमिकामा राजसंस्था रहने उनले बताए ।
उनले भने,‘धेरै साथीहरुले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौँ । अब सक्रिय राजसंस्था होइन । संवैधानिक राजसंस्था आवश्यक छ । यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु । नेपालीका छोराछोरीले देश चलाउने हो । अभिभावकको भुमिका राजसंस्थाले गर्नुपर्छ । यो विषयमा हामी स्पष्ट हुनुपर्छ । सनातन हिन्दु अधिराज्य कायम गर्ने यो सभा हो । यो चेतना जगाउने ठाउँ हो ।’
उनले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्नेमा समेत जोड दिए ।















