काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताएका छन् ।
भ्रष्टाचारविरूद्धको २२औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार जेनजी आन्दोलनको जगमा बनेको सरकार भएको बताए । सरकारले नियमित सँगसँगै सुशासनका निमित्त तिव्र गतिमा काम गरिरहेको उनको दाबी छ ।
जेनजीका माग र अपेक्षा बमोजिमका आशातित उपलब्धि हासिल हुन समय लाग्ने भए पनि भ्रष्टाचारविरूद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने उनले बताए । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको उनको दाबी छ । यस दिशामा चालिएका कदमबाट आत्तिएर कतिपयले प्रत्यक्ष वा परोक्षरूपमा धम्की दिएको समेत उनले बताए ।
उनले आफूहरू कसैको धम्कीबाट नडराउने भन्दै सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि कत्ति पनि विचलित नभइ निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न निर्देशन दिए ।















