मधेशका मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण, २४ मंसिरमा विश्वासको मत लिने

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् ।

कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेस दलका नेता यादवको जिम्मेवारीमा आएको हो ।

यसैबीच यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए ।

  • २१ मंसिर २०८२, आईतवार १२:०४ प्रकाशित