एमाले महाधिवेशनमा युवा संघले ५० हजारभन्दा बढी युवा उतार्ने

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेको महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरूको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा,जिल्ला,पालिका र प्रदेशहरू कमिटीहरूलाई अनिवार्य रूपमा युवाहरूको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ ।

थेबेका अनुसार काठमाडौँ र ललितपुरका ६१ वटा वडाबाट १०० हजारका दरले ६ हजार एक सय,उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार,उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १५ सयका दरले १५ हजार युवाहरू जुटाउने युवा संघको तयारी छ । यसैगरी महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार ,मधेसबाट ४ हजार,गण्डकी ३ हजार लुम्बिनीबाट २ हजार । कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सयका दरले १ हजार युवा जुटाउने युवा संघले जनाएको छ ।

संघका अध्यक्ष थेबे भन्छन्, ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौ । यसका लागि हाम्रो संगठनका सबै कमिटीहरू परिचालन गरेका छौँ । ’

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी स्थित तीनकुने मैदानमा हुने छ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ ।

एमालेले ११ औँ महाधिवेशन उद्घाटनका दिन काठमाडौँ उपत्यकामा इतिहासकै ठुलो जनप्रदर्शन गर्ने दाबी गर्दै आएको छ ।

  • २१ मंसिर २०८२, आईतवार ११:४८ प्रकाशित