सवारी चेकजाँचका क्रममा प्रहरीसंग झगडा गर्ने ४ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा ध्वनी प्रदुषण गरेर मोटरसाइकल चलाउने अनि प्रहरीसंग  झैझगडा गर्ने ४ जना पक्राउ परेका छन् । बिहीबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा १४ का २० वर्षीय मनिष केसी, पोखरा ८ बस्ने वर्ष २२ वर्षीय कृष्ण मल्ल, पोखरा २४ बस्ने २४ वर्षीय मनोज नेपाली र पोखरा १७ का २७ वर्षीय विशेष पुर्जा रहेका छन् । उनीहरु मोटरसाइकलसहित पक्राउ परेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार कास्की प्रहरीले चलाएको मिसन ३६५ अन्तर्गत ध्वनी प्रदुषण गरेर चलाएका १८९ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाही गरी छाडिएको छ ।

कास्की प्रहरीले होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपवाट आगोको झिल्का समेत निकाली समाजमा आशान्ति फैलाउनेगरी मोटरसाइकल चलाएको देखेमा उक्त मोटरसाईकल नम्बर नेपाल प्रहरीको हटलाईन नम्बर १००, ट्राफिक प्रहरीको १०३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

  • १९ मंसिर २०८२, शुक्रबार २०:२३ प्रकाशित