एनपीएल

शाहब आलमको ह्याट्रिक विकेटको मद्दतमा पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा शाहब आलमको ह्याट्रिक विकेटको मद्दतमा काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्स माथि जित निकालेको छ । दोस्रो इनिङको अन्तिम ओभरमा आलमले लगातार बलमा तीन विकेट लिएसँगै काठमान्डुले पोखरालाई हराएको हो ।

आलमले कुल ६ विकेट लिए । शाहबले ४ ओभरमा २५ रन खर्चेर एक्लै ६ विकेट लिए । यस सिजन उनी ६ विकेट लिने पहिलो खेलाडी समेत बने । काठमान्डुले पोखरालाई १३ रनले हराएको हो । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो । १६६ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पूरै २० ओभर खेल्दै १० विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

पोखरा एभेन्जर्सलाई पराजित गरेसंगै काठमान्डुले प्लेअफमा स्थान पक्का गरेको छ । साथै काठमान्ठुले शीर्ष दुईमा रहने सम्भावना पनि बलियो बनाएको छ । लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमान्डुले ५ जित र २ हारबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । लिगको बाँकी खेलको नतिजापछि काठमान्डु शीर्ष दुईमा रहनेरनरहने पक्का हुनेछ ।

६ खेलमा चौथो हार व्यहोरेको पोखराको ४ अंक मात्र छ र प्लेअफ सम्भावना कठिन बनेको छ । पोखराका लागि ऋषि धवनले अर्धशतक प्रहार गरेपनि पर्याप्त भएन । उनले ३१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ५४ रन बनाए । यस्तै धनन्जय लक्षनले ३० रन जोडे ।

५५ रनमा ४ विकेट गुमाएको पोखराका लागि धवन र धनन्जय लक्षन मिलेर पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए । तर यो साझेदारी ब्रेक भएपछि पोखराको रन गति पनि घटेको थियो ।

लक्षनले २७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा ३० रन जोडे । कप्तान कुशल भुर्तेलले २२ र ज्यासन रोयले १६ रन जोडे ।  कप्तान करण केसी र सन्नी पटेलले दुईरदुई विकेट लिए ।

काठमान्डुका लागि ओपनर चार्ल्सवर्थले ५५ बलमा ६४ रन बनाए । एक छेउबाट निरन्तर विकेट जाँदा पनि अर्को छेउबाट काठमान्डुको इनिङ्स सम्हालेका उनले १९औं ओभरसम्म क्रिजमा बिताएका थिए । चार्ल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे । भीम शार्कीले एनपीएलमा यस सिजन संयुक्त रुपमा सबैभन्दा छिटो १९ बलमा अर्धतशक प्रहार गरे । भीमले २३ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५५ रन बनाए ।

अर्का ओपनर आकाश त्रिपाठी खाता नखोल्दै धनन्जय लक्षनको बलमा बोल्ड भए । त्यसपछि आएका रासिद खान ७ रन जोडेर आउट भए । चार्ल्सवर्थ र मिलिनकुमार मिलेर काठमान्डुको इनिङ्स अगाडि बढाउने प्रयास गरेका थिए । तर ३३ रनको साझेदारी पछि मिलिन्द कुमार १३ रन बनाएर दशौँ ओभरमा आउट भए । विकेटकिपर जोन सिम्पसन २ र मोहम्मद आदिल आलम ७ रनमा आउट हुँदा काठमान्ठुले ७९ रनमै ५ विकेट गुमाएको थियो ।

तर, सातौं नम्बरमा ब्याटिङ गरेका भिम शार्कीले ओपनर चार्ल्सवर्थसँग राम्रो साझेदारी गर्दै इनिङ्स बिल्ड गरे ।

बलिङमा पोखराका लागि धनन्जय लक्षनले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले समान १ विकेट लिए ।

 

 

  • १८ मंसिर २०८२, बिहीबार १५:५७ प्रकाशित