पोखरा ।
रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा गर्दै आएको पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी १३ पुस देखि १७ पुससम्म हुने भएको छ । पोखराको लेकसाइड क्षेत्रमा २६ वर्षदेखि हुदै आएको महोत्सवलाई रेवानले यसपटक पनि निरन्तरता दिएको हो ।
‘सडक मै खाउ, सडक मै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्दै आएको आयोजक संस्था रेवानले बिहीबार पत्रकार भेटघाट मार्फत जानकारी दिएको हो ।
लेकसाइडको करिव ३ किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । परिवर्तित समयसँगै महोत्सवलाई पृथक र थप आर्कषक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि ग्रहण गरिरहेको रेवानले जनाएको छ । कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई वजार, प्रचार प्रसार, व्यापार वढाउन, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिदै आएको रेवानको भनाइ छ । सडक महोत्सव स्थानिय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम वनेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने छ । यसकासाथै पोखराका विभिन्न साहसिक गतिविधिको डकुमेन्टी प्रर्दशनका साथै पर्यटकिय गन्तब्यको प्रवद्र्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याई सजावटका साथ व्यवसाय प्रवद्र्धन गरिने छ ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवर्द्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पाेखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका सडक महोत्सवका मुल संयोजक बसन्त गौतमले बताए ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आयोजना रेवान पोखराले गरेपनि सबैको साझा महोत्सव बनेको बताए । पत्रकार भेटघाट कार्यक्रममा रेवान पाेखरामा निवर्तमान अध्यक्ष नरेश भट्टराई, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल र कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेको थिए ।















