काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेको घटनामा तत्कालीन सरकारले जिम्मा लिनुपर्ने बताएकी छन्।
त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए।कान्तिपुर टेलिभिजनको फयर साइडसँग अन्तर्वार्ता दिँदै एमालेकै पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले तत्कालीन सरकार प्रमुखको हैसियतले ओलीले त्यसको जिम्मा लिनुपर्ने बताएकी हुन्।
‘तत्कालीन सरकारको समयमा भएको हुनाले तत्कालीन सरकारप्रति त्यो कुरा जानुलाई अन्यथा रूपमा लिनुहुँदैन। किनभने जो सरकार छ, तत्कालीन अवस्थामा, त्यतिखेर घटना भयो भने अब तपाईं भन्नुस् न, प्राकृतिक प्रकोपहरू आउँदा त सरकारलाई दोष आउँछ, आउँदैनरु सरकारको नियन्त्रणमा हुन्छ त बाढी पहिरोहरूरु तर पनि सरकारले व्यवस्था गर्न सकेनरु अग्रिम सूचना दिनुपर्थ्यो कि, यो समयमा यस्तो खालको मौसम बदलिराछ, यो हुन सक्छ भनेर उच्च सतर्कता अपनाउनुपर्थ्यो, अथवा त्यसको लागि केही व्यवस्था गर्नुपर्थ्यो भन्ने कुरा माग हुन्छ भने, यो चाहिँ विद्यार्थीहरू जुलुसमा आए एक त सुरक्षा प्रबन्ध पनि अलिकति बेवास्वथा गरिएको हो कि जस्तो, कमजोर देखिन्छ। अर्को भनेको चाहिँ त्यसरी जुन, गोलाबारी भएर विद्यार्थीहरू भनौं त्यतिखेरको नवपुस्ताहरू एउटै घटनामा, एउटै समयमा २२ जना करिबको निधन हुनु भनेको चाहिँ त्यो अत्यन्त, दुःख हाम्रो नेपालको इतिहासको दुःखदायी घटना हो। त्यसको तत्कालीन सरकारलाई अपजस त आउँछ नै, जिम्मेवारी पनि लिनुपर्छ,’ उनले भनिन्।
त्यसमा राजनीतिक नेतृत्वको दोष कति हो भन्ने बहसको विषय भए पनि नैतिक जिम्मेवारीको कुरा आउने बताइन्।
‘२३ गतेको घटनाको जिम्मेवारी त तत्कालीन सरकारले लिनुपर्छ। होइन, राजनीतिक नेतृत्वको दोष कति हुन्छ, नैतिक जिम्मेवारीको कुरा हुन्छ, नैतिक जिम्मेवारी त लिनुपर्छ,’ उनले भनिन्, ‘नैतिक जिम्मेवारी त तपाईं कुनै पनि पदमा बहाल हुनुहुन्छ। तपाईंको अगाडि, तपाईंको मातहतमा कुनै घटना घट्यो भने त नैतिक जिम्मेवारी त लिनुपर्ने हुन्छ नि, अभिभावकको हिसाबमा, त्यसको राजनीतिक नेतृत्वले पनि नैतिक जिम्मेवारी लिनुपर्छ।
तर त्यहाँभित्र के कमजोरी भयो, सुरक्षा कति परिचालन गर्नुपर्थ्यो, त्यो समयमा हामीलाई सूचना भयो कि भएन जस्ता कमजोरीहरू पनि खोज्नुपर्ने उनले बताइन्।















