काठमाडौं।
सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव (सहसचिव) वैकुण्ठप्रसाद अर्यालको नाम सचिव बढुवाका लागि सिफारिस भएको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिवमा ज्येष्ठताका आधारमा अर्याललाई बढुवा गर्न सिफारिस गरेको हो ।
राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी मङ्सिर ९ गते रातिदेखि सचिव पदको पाँच वर्षे सेवाअवधि पूरा गरेर अनिवार्य अवकाशमा गएपछि रिक्त प्रशासन सेवाको सचिवमा ज्येष्ठताका आधारमा सहसचिव अर्यालको नाम सिफारिस गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाले जानकारी दिएको छ ।
सचिव बढुवा सिफारिस समितिमा सामान्य सचिव सदस्य सचिव हुन्छन् । बढुवाको निर्णयका लागि सामान्य प्रशासन मन्त्रालयले नै सिफारिस समितिको निर्णय सचिव मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने व्यवस्था छ ।
निजामती सेवा ऐनमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव सिफारिस गर्ने गरिन्छ । पाँचौँ पटक ज्येष्ठताका आधारमा एक ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ ।
अर्याल ज्येष्ठ सहसचिव भएकाले बढुवाका लागि एकल सिफारिसमा परेको मन्त्रालयले जानकारी दिएको छ । स्रोतका अनुसार सोमबार ९भोलि० बस्ने मन्त्रिपरिषद् बैठकबाट अर्याललाई सचिवमा बढुवा गर्ने तयारी छ ।















