एनआरएनएबीच एकता घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

गैर आवासीय नेपाली संघ (एनआरएन)बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा.बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको नेतृत्वमा क्रियाशील थिए । मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो ।

एकतापछि १७ अप्रिल २०२६ सम्ममा १२ औं महाधिवेशन गर्ने सहमति जुटेको छ । केसी नेतृत्वको कार्यसमिति श्रेष्ठको नेतृत्वमा एकता महाधिवेशनमा जान तयार भएको छ ।

महाधिवेशनलाई पारदर्शी एवं विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने, त्यस्तो कमिटीमा रहेका व्यक्ति १२औं महाधिवेशनमा उम्मेदवार नहुनेजस्ता सहमति जुटेको छ ।

लामो समयदेखिको प्रयासले सार्थकता पाएको छ । एकताको मूल सहमति पत्रमा हस्ताक्षर भइसकेको छ ।यसअघि विभिन्न समयमा एनआरएनको आधिकारिकता लगायतका विषयमा सबै पक्षले अदालतमा दायर गरेका मुद्दा फिर्ता लिने सहमति पनि भएको छ ।

१० बुँदे मूल सहमति परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको छ । त्यसलाई परराष्ट्र मन्त्रालयमा अभिलेखित गर्ने सहमति पत्रमै उल्लेख छ ।

१० बुँदे सहमतिको कार्यान्वयन संघको विधान अनुसार गर्ने, कुनै विषयमा विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने तथा सहमतिका सवै बुँदाहरूलाई संघको आगामी १२औं महाधिवेशनबाट अनुमोदन गराउने भनिएको छ ।

  ।

  • १४ मंसिर २०८२, आईतवार १३:३० प्रकाशित