माछापुच्छ्रेको काख चुरुङ्गामा दोस्रो दाइँ महोत्सव (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काख पोखरा –१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव भएको छ । पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सम्पन्न महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बीच पुजा गर्दै र कुन्युको जुरो निकालेर शनिबार उद्घाटन गरेका हुन् ।

महोत्सव उद्घाटन गर्दै उनले दाइँ महोत्सवले हाम्रो परम्परागत कृषि प्रणालीलाई जोगाउन र यसलाई पर्यटकीय प्रडक्टको रुपमा पस्कन सफल भएको बताए । नयाँ पुस्तालाई धान कसरी उत्पादन हुन्छ र यसको उत्पादनका साथै भण्डारण गर्ने शैलीको बारेमा जानकारी दिएको धारणा उनले राखे । पोखरा महानगरपालिकाले कृषि उत्पादन बढाउने विभिन्नढंगले कृषकलाई प्रोत्साहन गरेको उनले जानकारी दिए । प्रमुख आचार्यले पोखरा १९ क्षेत्रमा महानगर र संघ सरकारसंगको साझेदारीमा धेरैकाम अगाडि बढेको बताए ।

कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझै फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी महोत्सव आयोजना गरिएको परिषद्का उपाध्यक्ष हरि भुजेलले जानकारी दिए । पर्यटनसँग हरेक क्षेत्र जोडिएको, कृषि पर्यटन पनि पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण पक्ष भएकाले महोत्सव आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए।

महोत्सवमा उत्कृष्ट गोरुपालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगितालगायत प्रतियोगितामा उत्कृष्ठलाई सम्मान गरिएको छ । दुई सय रोपनीमा भण्डै ५०० मुरी धान उत्पादन गर्ने खगेन्द्र प्रसाद गुरुङ, ४९ रोपनी जमिनमा झण्डै १०० रोपनी धान उत्पादन गर्ने मिलन अधिकारी र ४९ रोपनी जमिनमा त्यति नै धान उत्पादन गर्ने बालकृष्ण भण्डारीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको पोखरा महानगरका आर्थिक महाशाखा प्रमुख मनहर कडरीयाले जानकारी दिए ।

कार्यक्रममा कृषि मन्त्रालय गण्डकी प्रदेशका सचिव बासुदेव रेग्मी, पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीसहित विभिन्न पर्यटकीय संघसंस्था र स्थानीय किसान एवं सामाजिक संघसंस्थाका प्रमुखको समेत सहभागिता थियो । दाइँ महोत्सवमा स्वदेशी पर्यटकसंगै विदेशी पर्यटक समेत रमाएका थिए ।

 

 

 

 

  • १३ मंसिर २०८२, शनिबार १३:२७ प्रकाशित